काठमाडौं । थारु समुदायले पहिलो पर्वका रूपमा मनाउने ‘गुरही’ मंगलबार उल्लासपूर्वक मनाइँदै छ । विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदै छ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेष गरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेष गरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उनले बताए ।

advertisement

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ । यसैबिच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ । गुरही पूजाका अवसरमा कैलालीका स्थानीयतहहरूले सार्वजनिक बिदासमेत दिएका छन् ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com