काठमाडौं । लामो समयदेखि अर्धभूमिगत जीवन बिताउँदै आएका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह अब खुला राजनीतिमा सक्रिय हुने भएका छन् । नेकपा मसालको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले सिंहलाई खुला राजनीतिक भूमिकामा फर्काउने निर्णय गरेको हो ।
साउन ९ र १० गते बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको शीर्ष नेता सिंहलाई खुला राजनीतिमा ल्याउने निर्णय गरेको राष्ट्रिय जनमोर्चा (नेकपा मसालको चुनावी मोर्चा) का अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
‘महामन्त्री सिंहलाई खुला राजनीतिमा ल्याउने निर्णय केन्द्रीय कमिटीले गरिसकेको छ, ‘यद्यपि पार्टीको केन्द्रीय संरचना भने अझै भूमिगत नै रहनेछ।’
उनका अनुसार हालको राष्ट्रिय परिस्थितिमा पार्टीको सम्पूर्ण केन्द्रीय कमिटी खुला नगर्ने निर्णय गरिएको हो । ‘देशमा विदेशी हस्तक्षेप बढ्दै गएको छ, विभिन्न संकटहरू देखा परिरहेका छन्, सहकारी घोटालादेखि प्रतिशोधपूर्ण राजनीति चलिरहेको छ,’ केसीले भने, ‘त्यसैले हाम्रो केन्द्रीय संरचना भूमिगत नै रहने निर्णय भएको हो।’
महामन्त्री सिंह २०२७ साल चैत ४ गते ९ वर्षको जेल जीवन बिताएर रिहा भएका थिए । त्यसयता उनी निरन्तर भूमिगत राजनीतिमा सक्रिय थिए । ‘त्यसबेला निरंकुश पञ्चायती शासन थियो,’ केसीले स्मरण गरे, ‘सिंहले मेची–महाकाली अभियानसमेत भूमिगत रूपमा सञ्चालन गर्नुभएको थियो ।’
बहुदलीय प्रणाली स्थापनापछि सिंहमाथि कानुनी रुपमा कुनै कारबाहीको अवस्था नभए पनि पार्टीले उनलाई अर्धभूमिगत अवस्थामा राखेको केसीले बताए । ‘पार्टीको निर्णयअनुसार उहाँ भूमिगत हुनु भएको थियो, अहिले पार्टीकै निर्णयमा खुला राजनीतिमा आउन लाग्नुभएको हो,’ केसीले स्पष्ट पारे, ‘यस्तो अवस्थामा आश्चर्य मान्नुपर्ने केही छैन ।’
यो निर्णयसँगै नेकपा मसालको राजनीतिक दिशा र मोहन विक्रम सिंहको भूमिकामा नयाँ मोड आउने विश्वास गरिएको छ ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया