काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको अवसरमा नेपाल–भारतबीचको व्यापार समस्याबारे उच्चस्तरीय वार्ता हुने जानकारी दिएका छन्।
मंगलबार काठमाडौंमा ‘नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन’द्वारा आयोजित ३१औँ कार्गो दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले प्रधानमन्त्रीको भ्रमणलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले व्यापार समस्या समाधानका प्रस्तावहरू तयार गरेको बताए। “प्रधानमन्त्रीज्यूलाई पूर्ण जानकारी दिने गरी तयारी भइरहेको छ,” उनले भने।
नेपालको प्रमुख व्यापारिक साझेदार मुलुकहरू भारत र चीन रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले दुवै देशसँगको व्यापार सन्तुलनमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताए। “केवल अरूको सामान किनेर व्यापार हुँदैन,” उनले भने, “आफ्नै उत्पादन निर्यात गर्ने वातावरण बनाउन मन्त्रालय सक्रिय छ।”
कार्यक्रममा महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा आयोजक संस्थाका अध्यक्ष राजेन्द्र संग्रौलालगायतले नेपालले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा थप ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा वक्ताहरूले यातायात, ढुवानी, भन्सार प्रक्रिया, पूर्वाधारलगायतका क्षेत्रमा सुधार गरी नेपाली वस्तुको निर्यात वृद्धि गर्न सरकारसँग आग्रह गरे।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया