काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रका उद्यमी तथा उद्योगपतिहरूलाई निडर भएर लगानी गर्न आग्रह गरेका छन्। उनले उद्योग–व्यवसाय सञ्चालनमा देखिने समस्या समाधान गर्न आफू सधैँ तयार रहेको स्पष्ट पारे।

नेपाली कांग्रेसको वित्तीय क्षेत्र समन्वय विभागले सानेपामा आयोजना गरेको मंगलबारको कार्यक्रममा बोल्दै देउवाले भने, “देशको समृद्धिका लागि निजी क्षेत्रको अग्रसरता अपरिहार्य छ, समस्यामा परे हामी समाधानका लागि तयार छौँ।”

advertisement

उनले कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणको मार्गबाट मुलुकले उल्लेख्य प्रगति गरेको दाबी गर्दै अब पनि लगानीमैत्री वातावरण निर्माण गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

सभापति देउवाले स्पष्ट पारे, “नेपाल सरकारले उद्योग खोल्ने होइन, उद्योग–व्यवसाय चलाउने जिम्मा तपाईंहरूको हो। के समस्या छ, भन्नुहोस्—समाधान गरिदिन्छु। अब नडराई लगानी गर्नुस्।”

उनका अनुसार, २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालमा कांग्रेसको नेतृत्वमा बनेको सरकारद्वारा लिइएको उदारीकरण नीतिले देशको आर्थिक आधार बलियो बनाएको हो।

देउवाले तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा लिइएको अडानकै कारण देश आर्थिक खुलापनतर्फ अघि बढेको स्मरण गरे। “गाली र आलोचनाबीच पनि आर्थिक सुधारको बाटो खोलिएको थियो,” उनले भने।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पनि देउवाको भनाइको समर्थन गर्दै भने, “निजी क्षेत्रले लगानी गर्ने, राज्यले नियमन गर्ने कांग्रेसको नीतिले एउटा मात्र बैंकले ३४ अर्ब रुपैयाँ राज्यलाई बुझाउन सक्यो।”

उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन सकिएमा विश्वकै आकर्षक लगानी गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।

त्यस्तै नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत संस्थाका प्रतिनिधिहरूले स्थिर र स्पष्ट आर्थिक नीतिका पक्षमा निजी क्षेत्र उभिएको भन्दै सरकारले त्यसलाई व्यवहारमा उतार्नुपर्ने माग राखे।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com