काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने उद्देश्यले कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमति गरिएको बताएका छन्।

‘देशको वित्तीय तथा मौद्रिक अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले गम्भीर आर्थिक संकटबाट देशलाई निकाल्न राजनीतिक सहकार्य अपरिहार्य रहेको बताएका हुन्।

advertisement

उनले विगतका धेरै विपद्—सशस्त्र द्वन्द्व, २०७२ को विनाशकारी भूकम्प, कोभिड–१९ को महामारी र रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय द्वन्द्वहरूले नेपालको आर्थिक संरचनामा गहिरो असर पारेको स्मरण गरे।

“यस्तो चुनौतीपूर्ण परिवेशमा पनि सरकार आर्थिक स्थायित्व कायम राख्न सफल भयो,” देउवाले भने, “यही पृष्ठभूमिमा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको एउटा मुख्य उद्देश्य भनेको अर्थतन्त्रलाई फेरि गतिशील बनाउनु हो।”

उनका अनुसार चालु खाता र शोधनान्तर बचतमा सुधार देखिएको, विदेशी मुद्रा सञ्चिति वृद्धि भएको, रेमिट्यान्स आप्रवाह उच्च दरमा रहेको र मुद्रास्फीति ४ प्रतिशत हाराहारीमा सीमित रहनुले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको हो।

“निजी क्षेत्रमा कर्जा प्रवाह ४.६ प्रतिशतले वृद्धि भएको छ,” उनले भने, “गत वर्षको तुलनामा आयातमा १३.१ प्रतिशत र निर्यातमा ७७ प्रतिशतको वृद्धिले आर्थिक गतिविधिमा सुधार देखिन्छ।”

देउवाले २०४८ सालमा कांग्रेस नेतृत्वको सरकारले लिएको उदार आर्थिक नीतिका कारण आजको आर्थिक जग मजबुत बनेको जिकिर गर्दै निजी क्षेत्रलाई विश्वास दिलाए— “त्यही उदारवादी नीति नै आज पनि हाम्रो अर्थतन्त्रको मेरुदण्ड बनेको छ।”

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com