काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चारदलीय समाजवादी मोर्चा तत्काल विघटन गर्न प्रस्ताव गरेपछि मोर्चा भित्र बहस चर्किएको छ।
मंगलबार नेकपा (एकीकृत समाजवादी)को आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकमा संयोजकसमेत रहेका विप्लवले मोर्चाले अपेक्षित प्रभाव पार्न नसकेको भन्दै ‘विघटन वा स्थगन’को विकल्प अघि सारेका थिए।
उनको प्रस्तावअनुसार, मोर्चा हालका लागि स्थगित गरेर आगामी केही महिनाभित्र नयाँ योजना र कार्यदिशासहित पुनः सञ्चालन गर्नुपर्ने धारणा राखिएको थियो। तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले त्यसप्रति असहमति जनाउँदै मोर्चा भंग गर्नु हालको राजनीतिक परिस्थितिमा सकारात्मक सन्देश नजाने तर्क गरेका थिए।
बैठकमा विप्लवले नेतृत्वको हैसियतमा आफूले भनेअनुसार मोर्चा सक्रिय बनाउन कठिनाइ आएको र नेताहरूबीच पनि स्पष्ट जिम्मेवारी र प्रतिबद्धता अभाव देखिएको भन्दै गुनासो राखेका थिए।
‘विप्लवजीले मोर्चा सक्रिय नहुँदा जनस्तरमा भ्रम पैदा भइरहेको भन्दै केही समय रोकौं र पुनः योजना बनाएर अघि बढौं भन्ने प्रस्ताव राख्नुभयो,’ बैठकमा सहभागी एक नेताले बताए, ‘तर अन्य नेताहरूले संयोजक नबदल्ने र मोर्चालाई कमजोर सन्देश नदिने सहमति जनाएपछि विघटनको प्रस्ताव तत्कालका लागि रोकिएको हो।’
बैठकमा मोर्चाको गतिविधि जनअपेक्षाअनुसार नचलेकाले आन्तरिक पुनर्संरचना आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको सबल पक्ष र कमजोरीहरूबारे समग्र समीक्षा गरिएको जानकारी दिँदै अब थप सशक्त रूपमै अघि बढ्ने बताए।
‘मोर्चाले बीचमा थुप्रै महत्वपूर्ण कामहरू गर्यो,’ प्रवक्ता विश्वकर्माले भने, ‘तर जुन गति र प्रभावकारिता देखिनुपर्ने थियो, त्यो सीमित रह्यो। अब निष्कर्षमा पुगेका छौं— मोर्चालाई निर्ममतापूर्वक सुधार गर्दै सशक्त बनाइनेछ।’
त्यस्तै, एकीकृत समाजवादीका नेता प्रमेश हमालले बैठकमा मोर्चाको कार्यक्रमिक प्रस्ताव परिमार्जनसहित पारित गरिएको र अब विचार मिल्ने अन्य शक्तिहरूलाई पनि मोर्चामा समावेश गर्ने निर्णय भएको जानकारी दिए।
यससँगै, समाजवादी मोर्चा विघटन होइन, सशक्त पुनर्गठनतर्फ अघि बढ्ने स्पष्ट संकेत देखिएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया