कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ठूला नदीहरूलाई जलमार्गमा रूपान्तरण गर्दै देशलाई समुद्रसँग जोड्ने महत्वाकांक्षी योजना अघि सारेका छन्।
कैलालीमा आयोजित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले कोशी, गण्डकी र कर्णाली नदीहरूलाई प्रयोग गरेर नेपाललाई जलमार्गमार्फत भारतको गंगा नदी हुँदै कलकत्तासम्म र त्यसपछि समुद्री मार्गसम्म जोड्न सकिने स्पष्ट पृष्ठभूमि रहेको बताए।
“हाम्रा नदीहरू कोशी, गण्डकी र कर्णाली गंगामा मिसिन्छन्,” उनले भने, “गंगाबाट कलकत्ता र त्यहाँबाट समुद्रसम्म पुग्न सकिन्छ। त्यसैले पानीजहाजमार्फत नेपाललाई सागरसँग जोड्नु असम्भव होइन।”
प्रधानमन्त्री ओलीले जलमार्गको विकासले देशको व्यापारिक क्षमता वृद्धि गर्ने, पारवहन प्रणालीलाई सस्तो र प्रभावकारी बनाउने र नेपालजस्ता स्थलरुद्ध मुलुकका लागि वैकल्पिक सम्भावना खोल्ने बताए।
उनले आलोचकहरूको आलोचनालाई लक्षित गर्दै व्यङ्ग्य गर्दै भने, “जब हामी रेलको कुरा गर्छौं, केहि मानिस हाँस्छन् — तर जनकपुरमा अहिले रेल चलिरहेको छ। दृढ इच्छा शक्ति भए ‘असम्भव’ भन्ने शब्दको कुनै अर्थ रहँदैन।”
प्रधानमन्त्री ओलीले जलमार्गका साथै जलस्रोतको समुचित उपयोगका लागि ठूला आयोजना जस्तै सुनकोशी–मरिन तथा भेरी–बबई डाइभर्सन योजनाहरूलाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता परियोजनाले सिँचाइ तथा विद्युत् उत्पादनमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
“हामी अब परम्परागत सोचमा अड्किने होइन, महत्वाकांक्षी सपना देख्ने र तिनलाई कार्यान्वयनमा उतार्ने दिशामा अघि बढ्नुपर्छ,” ओलीले भने।
उनले यस्ता राष्ट्रिय योजनालाई सफल बनाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, प्राविधिक र आम जनताबीच सहकार्य आवश्यक रहेको बताए। “देशको समृद्धिका लागि हामी सबै एकजुट हुनुपर्छ,” प्रधानमन्त्री ओलीको आह्वान थियो।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया