काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।
पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाका अनुसार बैठकमा भोलि बस्ने स्थायी कमिटी बैठकको कार्यसूची तय गर्ने र केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गरिनेछ।
उनले भने, “आजको बैठकमा स्थायी कमिटीको एजेन्डा, समसामयिक राजनीतिक विषयवस्तु तथा पार्टी संगठनसँग सम्बन्धित विषयमा विस्तृत छलफल हुनेछ।”
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बिहीबार) बस्ने तय भएको छ। सो बैठकले केन्द्रीय समिति बैठकका लागि आवश्यक एजेन्डा तय गर्नेछ भने, केन्द्रीय समिति बैठकको मिति पनि तय गरिने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
पार्टीको आन्तरिक संगठन, नीतिगत बहस तथा समसामयिक राजनीतिक अवस्थाका सन्दर्भमा यी बैठकहरू महत्वपूर्ण हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया