काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बस्ने राष्ट्रियसभा बैठकमा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रक्रियाबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन)’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिनेछन्। उक्त प्रतिवेदन विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्दैछिन् ।
बैठकको कार्यसूचीअनुसार सभापति पन्तले एलडिसी ग्रयाजुएसनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछिन् ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू पनि जानकारीका लागि प्रस्तुत गरिने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया