काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दुई कार्यकालसम्म राष्ट्रको सर्वोच्च पद सम्हालेकी व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्कन खोज्नु अकल्पनीय भएको टिप्पणी गरेका छन्।
बुधबार जिफन्टको १२औं प्रतिनिधि परिषद् बैठकमा बोल्दै महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा सक्रिय हुने इच्छा पार्टीको नीति विपरीत भएको बताएका हुन्। नेपालको राजनीति र ट्रेड युनियन आन्दोलनसम्बन्धी एक घण्टा लामो प्रशिक्षण दिँदै उनले भण्डारी राष्ट्रपति बन्नुअघि नै आफूले सक्रिय राजनीतिबाट अलग रहन सुझाव दिएको पनि खुलासा गरे।
“विद्या भण्डारीको निवासमै गएर राष्ट्रपतिको जिम्मेवारी नलिनु उपयुक्त हुने सुझाव दिएको थिएँ,” पोखरेलले भने, “तर पार्टीको निर्णयअनुसार हामी सबैले उहाँलाई सर्वसम्मत रूपमा राष्ट्रपतिको उम्मेदवार बनायौँ। दुई कार्यकाल पूरा गरेपछि अब उहाँ राजनीतिमा फर्किनुहुन्छ भन्ने कल्पना पनि गरिएको थिएन।”
महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रीय कमिटीको निर्णयअनुसार भण्डारीलाई सम्मानित भूमिकामा बस्न आग्रह गर्दै पार्टी नीति र पद्धतिप्रति निष्ठावान रहन आग्रह गरे। उनले हाल देखिएको सक्रियता पार्टी पद्धतिको उल्लंघन भएको संकेत गरे।
उनले पार्टी नेतृत्वमा दुई कार्यकालको सन्दर्भलाई अनावश्यक रूपमा विवादित बनाइएको भन्दै त्यसले पार्टीको प्रतिष्ठामा आँच आउने खतरा रहेको बताए। उमेरको सीमा (७० वर्ष) लोकतान्त्रिक मान्यता विपरीत नभएको जिकिर गर्दै उनले स्व. मदन भण्डारीको विचार उद्धृत गर्दै भने, “पार्टी नेतृत्व कुनै रहस्यमय वा अलौकिक पात्र हुन हुँदैन, जनताबाट अनुमोदित हुनुपर्छ।”
महासचिव पोखरेलको भनाइ एमालेभित्र नेतृत्व परिवर्तन र नीति पालनाबारे चलिरहेको बहसमा थप धार थपिएको संकेतको रूपमा हेरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया