विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालको गठबन्धन सरकारको कुनै स्पष्ट विकल्प नभएको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले दुई प्रमुख दल मिलेर बनेको वर्तमान सरकार २०८४ सालसम्म निरन्तरता पाउनु उपयुक्त हुने धारणा व्यक्त गरे। “दुई ठूला दल मिलेर बनेको सरकारको विकल्प के हुन्छ त? हामी चाहन्छौं, यो सरकार २०८४ सम्म जाओस्,” डा. कोइरालाले भने, “तर, सरकारले प्रभावकारी र जनउत्तरदायी काम गर्नुपर्छ।”

advertisement

उनले वर्तमान सरकारलाई विकल्प दिनका लागि संसदमा स्पष्ट बहुमत आवश्यक पर्ने उल्लेख गर्दै हाल त्यसको सम्भावना नरहेको स्पष्ट पारे।

सुशासनका सवालमा आफू कांग्रेसभित्र सबैभन्दा अगाडि बोलेको दाबी गर्दै डा. कोइरालाले कर्मचारी समायोजन विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानको गम्भीर त्रुटिमा सांसदहरू स्वयंको पनि कमजोरी रहेको स्वीकार गरे। “हामीले विधेयक राम्ररी नपढीकनै पास गर्नुभएको गल्ती हो,” उनले भने, “तर प्रमुख दोष भने समितिका सभापति र एमाले नेतृत्वको नै हो।”

उनले एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’ हटाउने प्रस्तावसहित संशोधन दर्ता गर्नुले सो विवादमा एमालेको संलग्नता प्रस्ट भएको पनि उल्लेख गरे।

डा. कोइरालाको भनाइमा, “हाम्रो पनि कमजोरी भयो, तर यो विषयमा प्रमुख भूमिका भने एमाले र समितिका सभापतिको रहेको छ।”

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com