काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेतृत्व परिवर्तनको सम्भावना हालका लागि नरहेको स्पष्ट पारेका छन्।
बुधवार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले संसदीय दलको नेतामा परिवर्तन ल्याउन आवश्यक संख्या नपुगेको जनाउँदै आफू त्यस प्रयासमा नलागेको बताएका हुन्।
“संसदीय दलको नेता परिवर्तन गर्न संख्या आवश्यक पर्छ, जुन अहिलेको अवस्थामा सम्भव छैन,” उनले भने, “यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, त्यसैले चिन्ता गर्नुपर्ने अवस्था छैन।”
उनले हालको संघीय सरकार कांग्रेस र एमालेबीचको सहमतिमा बने पनि त्यसले अपेक्षित रूपमा काम गर्न नसकेको आलोचना गरे। “यो सरकार २०८४ सालसम्म जाओस्, तर चलाउने ढंग राम्रो हुनुपर्छ,” कोइरालाले भने, “अहिलेको काम गर्ने शैली प्रभावकारी छैन।”
उनले कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिए ।
पछिल्लो समय कोइरालाले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका भेटवार्तालाई लिएर कांग्रेसभित्र केही असन्तुष्टि देखिएको थियो।
यसै सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई ‘सक्ने भए संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ भन्दै चुनौती दिएका थिए।
२०७९ पुस ६ गते भएको संसदीय दलको नेताको निर्वाचनमा देउवा ६४ मतसहित विजयी भएका थिए भने प्रतिस्पर्धी गगन थापाले २५ मत पाएका थिए। सोही सन्तुलन यथावत् रहेको भन्दै दल नेतृत्व परिवर्तनको सम्भावना हालका लागि कमजोर देखिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया