काठमाडाैं । जम्मु कश्मीरको पुंछ जिल्लास्थित नियन्त्रण रेखा (एलओसी) नजिक घुसपैठको प्रयास गर्दै गरेका दुई जना आतंककारी भारतीय सुरक्षाबलसँगको मुठभेडमा मारिएको भारतीय सेनाले जनाएको छ।

मंगलबार राति देगवार सेक्टरको मालदिवलन क्षेत्रमा सीमामा तैनाथ सुरक्षाकर्मीहरूले शङ्कास्पद गतिविधि देखेपछि गोली हानाहान सुरु भएको थियो। सेना र आतंककारीबीच भएको भिडन्तलाई ‘अपरेसन शिवशक्ति’ नाम दिइएको छ।

advertisement

सुरक्षाबलले घटनास्थलबाट तीन थान हतियारसहित केही गोला–बारुद बरामद गरेको जानकारी दिएको छ।

यो घटना पछिल्लो तीन दिनको अवधिमा भएको दोस्रो आतङ्कवादविरोधी अपरेसन हो। यसअघि, जुलाई २८ मा, श्रीनगरको दाचिगाम राष्ट्रिय निकुञ्ज नजिकको हरवन क्षेत्रमा सुरक्षा बलले पाकिस्तानी आतंककारीहरूसँग मुठभेड गर्दै तीन जनालाई ढालेका थिए।

गृहमन्त्री अमित शाहले लोकसभामा दिएको जानकारी अनुसार, मारिएका आतंककारीहरूमध्ये एक सुलेमान पहलगाममा भएको आक्रमणका मुख्य योजनाकार थिए। बाँकी दुईको पहिचान जिब्रान र हमजा अफगानीको रूपमा गरिएको छ।

जिब्रान २०२४ मा सोनमर्ग सुरुङ परियोजनामा भएको आक्रमणमा संलग्न रहेको बताइएको छ।

उक्त मुठभेडमा आतंककारीहरूबाट अमेरिकी एम–४ कार्बाइन, एके–४७, अन्य प्रकारका १७ राइफलहरू र ग्रिनेड बरामद गरिएको थियो। त्यस अभियानलाई ‘अपरेसन महादेव’ नाम दिइएको थियो।

एक साता अघि नै भारतीय गुप्तचर निकायहरूले श्रीनगरको दाचिगाम जंगल क्षेत्रमा आतंककारीहरूको गतिविधिबारे सूचना दिएका थिए, जसको आधारमा सेना सक्रिय बनेको हो।

लगातार भइरहेका यस्ता अपरेसनहरूले सीमावर्ती क्षेत्रमा आतङ्कवादी गतिविधि बढिरहेको संकेत दिएको सुरक्षास्रोतहरूको भनाइ छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com