काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले नेपालले अति कम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि, प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानको प्रतीकका रूपमा प्रस्तुत गरेकी छन्।
बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभामा भएको छलफलमा बोल्दै डा. शाक्यले नेपालको विकास यात्राको यो मोड ऐतिहासिक भएको बताइन्।
“सन् २०२६ मा नेपाल एलडीसीको सूचीबाट हटेर विकासशील राष्ट्रको श्रेणीमा प्रवेश गर्दैछ, जुन केवल प्राविधिक स्तरोन्नति होइन, यो हाम्रो राष्ट्रिय स्वाभिमान, क्षमताको प्रमाण र उज्ज्वल भविष्यको सङ्केत हो,” उनले भनिन्।
शाक्यको संयोजकत्वमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले तयार पारेको ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१’ माथि सो दिन छलफल भएको हो।
उनका अनुसार नेपालले यो उपलब्धि प्रति व्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेर हासिल गरेको हो।
“यो हामी सबै नेपालीका लागि गौरवको क्षण हो,” उनले भनिन्।
यद्यपि एलडीसीको हैसियत गुमेपछि केही अन्तर्राष्ट्रिय सहयोग र व्यापारसम्बन्धी सुविधा कटौती हुने संभावना रहेको उल्लेख गर्दै उनले त्यसलाई अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।
“हामीले परनिर्भरताको पाना पल्टाउँदै आत्मनिर्भरताको नयाँ युगमा प्रवेश गर्नुपर्नेछ,” शाक्यले भनिन्।
उनले प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनलाई भविष्यको मार्गदर्शनका रूपमा लिँदै, यसको सफल कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
प्रधानमन्त्रीको उपस्थिति रहेको छलफलमा प्रतिवेदनमाथि विभिन्न सदस्यहरूले धारणा राखेका थिए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया