काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ‘ग्रे लिस्ट’ मा परेको विषयलाई गम्भीर रूपमा नलिन आग्रह गरेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस विषयमा अनावश्यक चिन्ता नगर्न सुझाव दिंदै “यो अस्थायी हो, अर्को वर्षसम्ममा नेपाल ‘ग्रिन लिस्ट’ मा प्रवेश गर्छ,” भन्ने विश्वास व्यक्त गरे।
“ग्रे लिस्ट भन्ने कुरा खासै ठूलो होइन,” भन्दै प्रधानमन्त्री ओलीले हल्का व्यङ्ग्यको शैलीमा थपे, “हेर्दै जानुहोस्, अर्को वर्ष ग्रे लिस्ट हट्छ, हाम्रो नाम ग्रिन लिस्टमा जान्छ।”
उनको उक्त भनाइले सदनमा रहेका नेकपा (एमाले) सांसदहरूलाई हाँस्न बाध्य बनायो।
प्रधानमन्त्री ओलीले नेपालको आर्थिक अवस्थाको मूल्यांकन सरकार आफैले होइन, विश्व बैंक र एशियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय निकायहरूले गरेको प्रष्ट पारे। “उनीहरूकै मूल्यांकनका आधारमा नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको हो,” उनले भने।
उनले अन्तर्राष्ट्रिय मूल्यांकन प्रक्रियामा कहिलेकाहीँ त्रुटि वा भ्रमपुर्ण व्याख्या हुन सक्ने स्वीकार गर्दै पनि त्यसका कारण देशप्रति नकारात्मक दृष्टिकोण राख्न नहुनेमा जोड दिए।
“हामीले आफैंलाई सधैं नकारात्मक दृष्टिले हेर्न मिल्दैन। देशप्रति सकारात्मक सोच राखौं, हाम्रै विश्वास र आत्मबलले सुधार सम्भव छ,” प्रधानमन्त्री ओलीले भने।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया