काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित इन्द्र बानियाँले दलभित्रको नेतृत्व प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रणालीको सकारात्मक अभ्यासको रूपमा व्याख्या गरेका छन्।
मुख्यमन्त्री बहादुर सिंह लामालाई हराउँदै दलको नेता बनेपछि प्रतिक्रिया दिँदै बानियाँले यो प्रतिस्पर्धालाई व्यक्तिगत जित–हार नभई जिम्मेवारीको स्वाभाविक हेरफेरको रूपमा लिन आग्रह गरे।
“लोकतन्त्रमा दलभित्रको प्रतिस्पर्धा र नेतृत्व परिवर्तन स्वाभाविक हो,” उनले भने, “यसले न केवल आन्तरिक अनुशासनलाई मजबुत बनाउँछ, जनताको विश्वास पनि थप प्रगाढ हुन्छ।”
बानियाँले मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाइसकेको अवस्थामा नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा पनि राखे। उनले भने, “उहाँले जनमतको सम्मान गर्नुहुन्छ भन्ने अपेक्षा छ, नभए लोकतान्त्रिक प्रक्रियाबाटै निर्णय हुनेछ।”
उनका अनुसार नेतृत्व परिवर्तनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास जीवित छ भन्ने सन्देश दिन्छ, जुन समग्र व्यवस्थाको सुदृढीकरणका लागि आवश्यक छ। बानियाँले अबको प्राथमिकता प्रदेश सरकारलाई प्रभावकारी बनाउनेतर्फ केन्द्रित रहने बताए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार











प्रतिक्रिया