काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले वर्तमान अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर आफ्नै पिता लालवीर चौधरीलाई अध्यक्ष बनाउने संकेत गरेका छन्।

पार्टीको राष्ट्रिय भेला बुधबारदेखि सुरु भएको छ। भेलामा अध्यक्ष रञ्जितालाई हटाएर नयाँ नेतृत्व चयन गर्ने प्रस्तावसमेत आएको छ। यस विषयमा छलफल जारी रहेको र अन्तिम निर्णय सदस्यहरूको धारणा अनुसार गरिने चौधरीले बताएका छन्।

advertisement

‘को अध्यक्ष हुने भनेर निर्णय गर्न बैठक राखिएको हो,’ रेशम चौधरीले पत्रकारहरूसँग भने, ‘आजको अवस्था कसरी आयो, त्यसमा को कति जिम्मेवार छन् भन्ने कुरा सबैलाई थाहा छ। राजनीतिक दलमा यस्ता परिवर्तनहरू भइरहन्छन्। यो नै राजनीति हो।’

उनले आफू व्यक्तिगत रूपमा बाबु लालवीर चौधरीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा नभएको स्पष्ट पारे। ‘बुवालाई अध्यक्ष बनाउने कि नबनाउने भन्ने कुरा सदस्यहरूले आफ्नो धारणा राखेपछि मात्र थाहा हुनेछ,’ उनले भने।

रेशम चौधरीले वर्तमान अध्यक्ष रञ्जिताले पार्टीको केन्द्रीय समिति बोलाएर स्पष्ट धारणा दिनुपर्ने बताए। पार्टीको अनुशासन आयोगले २४ घन्टे स्पष्टीकरण माग्दा त्यसको जवाफ नदिई वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेर जानु उचित नभएको उनले बताए।

‘कार्यवाहक अध्यक्ष तोकिएको विषय व्यक्तिगत रूपमा मलाई मन परेको छैन। धेरैजसोलाई चित्त नबुझेको छ,’ उनले भने, ‘त्यो कार्य पार्टीको विधानविपरीत छ। विधानअनुसार केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने थियो। यसैले अब पार्टीभित्र गम्भीर छलफल आवश्यक छ। कार्यकर्ताहरूले सोधिरहेका छन्— हाम्रो अध्यक्ष को हो? कार्यवाहक को हो?’

उनका अनुसार यिनै विषयमा स्पष्ट निर्णय लिन राष्ट्रिय भेला बोलाइएको हो।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com