काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ छाप्रोस्थित सडकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ निवासी तथा कोटेश्वर बसोबास गर्दै आएका २५ वर्षीय नवराज तुमसिंह मगर रहेका छन् ।
बुधवार राति करिब पौने ९ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ गइरहेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नवराजलाई गम्भीर चोट लागेपछि केएमसी अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए ।
मोटरसाइकल चालक २६ वर्षीय सन्तोष मगर पनि घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्। दुर्घटनापछि ट्याङ्कर चालक धादिङका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया