धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आज प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्। बैठक आज अपराह्न ५ बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्री शाहले असार १९ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट सरकारमा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई आर्थिक अनियमितताको आरोपमा पदबाट बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसयता मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने माग चुलिँदै आएको थियो।

advertisement

प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार, “मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले प्रदेशसभा बैठक अपराह्न ५ बजेका लागि बोलाइएको हो।”

प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ गरी २९ सांसदको समर्थन मुख्यमन्त्री शाहलाई छ। दुवै दलले आफ्ना सांसदहरूलाई शाहको पक्षमा मतदान गर्न ह्विप पनि जारी गरिसकेका छन्।

यद्यपि, शाहले थप सुनिश्चितताका लागि नागरिक उन्मुक्ति पार्टीको समर्थन खोजिरहेका छन्। तर नाउपाले आफ्नो मन्त्री बर्खास्त गरिएको विषयलाई लिएर असन्तुष्टि जनाएको छ।

नाउपाका संरक्षक रेशम चौधरीले भने, “हाम्रो मन्त्रीलाई न कुनै मुद्दा लागेको छ, न अख्तियारमा उजुरी परेको छ। त्यसैले पुनर्बहाली नभएसम्म हामी विपक्षमा मतदान गर्नेबारे छलफल भइरहेको छ।”

मुख्यमन्त्री शाहले भने आफूलाई आवश्यक बहुमत सुनिश्चित रहेको दाबी गरेका छन्। “कांग्रेस र एमालेसँगै नै बहुमत पुग्छ, तर अन्य दलहरूसँग पनि सहकार्यको प्रयास जारी छ,” उनले बताएका छन्।

मुख्य प्रतिपक्ष माओवादी केन्द्र, समाजवादी पार्टी, स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशी तथा राप्रपाले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने तयारी गरेका छन्।

आजको मतदानले शाहको नेतृत्व कायम रहन्छ वा नयाँ सत्ता समीकरण बन्‍ने संकेत मिल्नेछ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com