काठमाडाैं ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पार्टी संगठनभित्र व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाका कारण असमझदारी बढाउन नहुने चेतावनी दिएकी छन्। बिहीबार पोखरामा कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्वस्थ प्रतिस्पर्धालाई स्वागतयोग्य भनेपनि त्यसले पार्टीलाई विभाजनतर्फ लैजान नहुने स्पष्ट पारिन्।

“पार्टी व्यक्तिगत सपना पूरा गर्ने माध्यम होइन, यो राष्ट्र र समाजका लागि योगदान दिने थलो हो,” मन्त्री राणाले भनिन्, “हामीबीच विचार, शैली वा पदका लागि प्रतिस्पर्धा हुन सक्छ, तर त्यसका आधारमा मनमुटाव सिर्जना गर्नु गलत हो।”

advertisement

उनले नेपाली कांग्रेसका ऐतिहासिक नेताहरू—विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता व्यक्तित्वहरूको योगदान स्मरण गर्दै पार्टी आज जहाँ छ, त्यो उनीहरूको मार्गदर्शनकै फल भएको बताइन्। “हामीले उनीहरूको विचार र आचरणलाई आत्मसात् गर्दै पार्टीलाई अझ सुदृढ बनाउनु पर्छ,” उनले जोड दिइन् ।

महाधिवेशन नजिकिँदै गर्दा स्वाभाविक रूपमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुने संकेत दिँदै उनले भने, “कसैलाई काखा, कसैलाई पाखा लगाउने प्रवृत्तिबाट टाढा रहनु जरूरी छ। एकता र सहकार्यबाट मात्र कांग्रेस अझ बलियो हुन्छ।”

डिजिटल युगमा सामाजिक सञ्जालको भूमिका उल्लेख गर्दै उनले कांग्रेसले त्यसको सकारात्मक प्रयोग गर्दै जनतामा आशा र विश्वास जगाउने सन्देश दिनुपर्ने बताइन्। पछिल्लो समय “देशमा केही भएन” भन्ने नकारात्मक प्रवृत्ति फैलाउने प्रयास भइरहेको भन्दै उनले त्यसको जवाफ सकारात्मक अभियानबाट दिनुपर्नेमा जोड दिइन् ।

“हामी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ। देशमै केही गर्ने वातावरण बनाउनु सबैको साझा जिम्मेवारी हो,” मन्त्री राणाले भनिन् ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com