काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिले मुलुकमा राजनीतिक स्थायित्वको नयाँ सम्भावना खोलिएको बताएका छन्। बिहीबार रामेछापमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले बारम्बार सरकार परिवर्तन हुने राजनीतिक अस्थिरताको अन्त्य अब सम्भव भएको दाबी गरे।
“हामी केवल सत्ताका लागि सहमतिमा पुगेका होइनौं, यो सहमति राष्ट्रहितमा राजनीतिक स्थिरता सुनिश्चित गर्ने उद्देश्यले गरिएको हो,” सिंहले स्पष्ट पारे।
कांग्रेसका वरिष्ठ नेता समेत रहेका सिंहले पार्टीलाई विधि र विधानको मूलधारमा राख्दै संस्थागत रूपले सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले कांग्रेसले सामना गरिरहेका चुनौतीहरूसँग जुझ्न सक्षम नेतृत्व आवश्यक रहेको भन्दै आफू त्यसका लागि तयार रहेको दोहोर्याए।
“म पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै जिम्मेवारीमा काम गरिसकेको छु,” सिंहले भने, “अब म आफ्नो अनुभव पार्टीभित्र बाँड्दै कांग्रेसलाई अझ बलियो र सक्षम बनाउने अभियानमा लाग्नेछु।”
उनले नेतृत्वमा अनुभव, समर्पण र एकता आवश्यक भएको उल्लेख गर्दै पार्टीभित्र सहकार्य र समन्वयमार्फत मात्र कांग्रेसलाई भविष्यमा सशक्त बनाउने सम्भावना रहेको धारणा व्यक्त गरे।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया