काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पार्टीका प्रदेश सभा उम्मेदवार राजु गैरेमाथि हेल्मेटले कुटपिट गरेको घटनाले विवाद उत्पन्न भएको छ।
गैरेले सामाजिक सञ्जालमार्फत् आफ्नो उजुरी प्रस्तुत गर्दै भनेका छन्, “यदि न्याय नपाए मैले पार्टी कार्यालयमा पासो लगाएर आत्महत्या गर्ने छु।” उनले दोषीलाई बचाउन वा वार्ताका लागि कसैले प्रयास नगरून् भनी कडा चेतावनीसमेत दिएका छन्। उनले भने, “ज्यान मार्न आउनेलाई वार्ताले उन्मुक्ति दिन सकिँदैन। राजनीतिक शक्तिको दममा चलखेल हुन पाउँदैन।”
गैरेले आफ्नो १८ वर्षे पार्टी योगदान उल्लेख गर्दै अध्यक्ष लिङ्देनको कार्यशैली र पार्टी सञ्चालनलाई आलोचना गरेका छन्। उनले भनेका छन्, “झापाको छुर्पी ग्याङ जस्तो तरिकाले पार्टी नचाल्नुस्। वैचारिक बहस गर्न नपाउनु र केवल चाकरी गर्ने मात्र कार्यकर्ता मान्नु गलत हो।”
गैरेले अध्यक्षका स्वकीय सचिव कडायतले आफूलाई हेल्मेटले प्रहार गरेको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। उनले पार्टीभित्रका गुण्डा तत्त्वहरूले आफूलाई मार्न खोजेको र आफूले सिद्धान्तमा कट्टरता नछाडेको बताएका छन्।
गैरेले थपे, “मैले परिवारको गहना बेचेर चुनाव लडेँ, पार्टीको झन्डा बुढ्याएर अघि बढाएँ। तर आज १८ वर्षे योगदानको सट्टामा यस्तो व्यवहार भोग्नुपरेको छ।”
उक्त घटनाप्रति प्रहरीमा उजुरी दिइसकेको जानकारी छ। यस विषयमा पार्टी नेतृत्वबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया