काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरको भव्य रंगशाला निर्माण गरिने घोषणा गरेका छन्।

दशरथ रंगशालामा बिहीबार आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री ओलीले देशभर खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिएको बताए। “अब नेपालमा रंगशाला र खेल मैदानको अभाव हुन दिनेछैनौं,” उनले दृढता व्यक्त गरे।

advertisement

प्रधानमन्त्री ओलीले भने, “दशरथ रंगशालाको हालको क्षमता १५ हजार मात्र छ। अब हामी भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक अट्ने रंगशाला निर्माण गर्दैछौं। त्यहाँबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू सञ्चालन गर्न सकिनेछ।”

कार्यक्रममा सहभागी साना बालबालिकालाई सम्बोधन गर्दै उनले थपे, “तिमीहरू जबसम्म ठूलो भएर राष्ट्रिय खेलाडी बन्छौ, तबसम्म ५० हजार दर्शकले तिमीहरूको खेल हेर्ने रंगशाला तयार भइसकेको हुनेछ।”

उनले दशरथ रंगशालाको ऐतिहासिक महत्त्वलाई समेत सम्झिँदै यसलाई संरक्षण गर्दै थप स्तरोन्नति गरिने जानकारी दिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा रहेको र आगामी सिजनदेखि त्यहाँबाट क्रिकेट खेलहरू सुरु गरिने योजना रहेको प्रधानमन्त्री ओलीले खुलासा गरे।

साथै, पोखरा, सुर्खेत, धनगढी, झापा र दमकमा समेत नयाँ रंगशाला निर्माणको काम अगाडि बढिरहेको जानकारी दिँदै उनले भने, “हामी नेपाललाई सम्पूर्ण खेलका क्षेत्रमा सफल र स्वर्ण पदक विजेता राष्ट्रका रूपमा अगाडि बढाउन चाहन्छौं।”

प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका लागि विशेष प्रशिक्षण पूर्वाधार, अभ्यास स्थल तथा इन्डोर खेलका लागि आवश्यक संरचना निर्माणमा सरकार प्रतिवद्ध रहेको पनि बताए।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com