काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भविष्यमा पेले, मेस्सी र रोनाल्डोजस्ता विश्व चर्चित खेलाडीहरू उत्पादन गर्ने देशको रूपमा विकास गर्ने दुरदर्शी योजना सार्वजनिक गरेका छन्।
बिहीबार दशरथ रंगशालामा आयोजित ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उनले बालबालिकालाई खेलकुदमै उज्ज्वल भविष्य खोज्न प्रेरित गर्दै सरकार खेल पूर्वाधार निर्माणमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।
“हामीले पेलेदेखि मेस्सी, रोनाल्डो वा एमबाप्पेसम्मका खेलाडीहरूको स्तरमा पुग्ने मात्र होइन, त्योभन्दा पनि अगाडि बढ्ने क्षमतायुक्त खेलाडी नेपालमै उत्पादन गर्ने लक्ष्य राखेका छौँ,” प्रधानमन्त्री ओलीले भने।
बालबालिकालाई लक्ष्य गर्दै उनले थपे, “तिमीहरू हुर्किँदासम्म, जब तिमीहरू राष्ट्रिय टोलीका हिस्सा हुनेछौ, तब ५० हजार दर्शक अट्ने भव्य रंगशाला तयार भइसकेको हुनेछ।” भक्तपुरको सूर्यविनायकमा निर्माण गर्न लागिएको उक्त अन्तर्राष्ट्रिय रंगशालाको क्षमता दशरथ रंगशालाको भन्दा तीन गुणा बढी रहने बताइएको छ।
प्रधानमन्त्रीले ‘फुटबल फर स्कुल’ कार्यक्रममार्फत देशभरका १ हजारभन्दा बढी विद्यालयमा फुटबल वितरण गरिने र करिब ६ लाख विद्यार्थीहरू लाभान्वित हुने जानकारी दिए। उनले यस कार्यक्रमलाई खेल संस्कृतिको आधारशिला भएको टिप्पणी गर्दै फुटबल अभावमा अभ्यास गर्न नपाउने बालबालिकाको अवस्थालाई यसले अन्त्य गर्ने विश्वास व्यक्त गरे।
पूर्वाधार विकासतर्फ सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उनले पोखरा, सुर्खेत, धनगढी, झापा, दमक र कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा समेत रंगशाला तथा खेलमैदान निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले खेलकुद शारीरिक स्वास्थ्यसँगै अनुशासन, मित्रता र जीवनोपयोगी सीपहरू विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे। उनले खेलमार्फत ‘निरोगी नेपाल’ निर्माण गर्ने सरकारको अभियानमा ठोस टेवा पुग्ने अपेक्षा राखेको बताए।
अन्त्यमा प्रधानमन्त्रीले विश्वास दिलाए, “आजको लगानी भोलिका विश्वस्तरीय खेलाडी उत्पादनको जग हुनेछ। हामी सक्छौं, नेपाल बन्न सक्छ – खेलकुदको शक्तिशाली राष्ट्र।”
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया