काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले हालको नेतृत्व शैली, गुटबन्दी, भागबन्डा र हैकमवादी प्रवृत्तिबाट निराश भई पार्टी त्याग्ने निर्णय गरेको जनाएका हुन्।
कार्कीले विज्ञप्तिमा लेखेका छन्, “पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई हटाउँदै चाकडी र चाप्लुसी गर्नेहरूलाई संरक्षण दिन थालेपछि सुधारको कुनै सम्भावना बाँकी रहेन।”
पार्टीमा सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा काम गरेको अनुभव सुनाउँदै उनले वर्तमान नेतृत्वमाथि विधि-विधानविहीन र स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गरेको आरोप लगाएका छन्।
कार्कीले विचारभन्दा पद, भागबन्डा, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको, पुराना समर्पित कार्यकर्तालाई पाखा लगाएर अयोग्य तथा नवप्रवेशीहरूलाई जिम्मेवारी दिइएको, र बारम्बार चुनाव चिन्ह परिवर्तन गरिएकोजस्ता कुराले कार्यकर्तामाझ निराशा चुलिएको बताएका छन्।
“यस्ता प्रवृत्तिले संगठनको आत्मा मरेको अनुभूति हुन्छ र यस्तो नेतृत्वको पछि लाग्नु देश र जनताको लागि धोका हुनेछ”, विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीको साधारण सदस्यता समेत त्यागेको घोषणा गर्दै कार्कीले अब कुनै राजनीतिक दल वा गुटसँग आबद्ध नरही स्वतन्त्र रूपमा राष्ट्र र जनताको सेवामा लाग्ने बताएका छन्। साथै, सत्य, निष्ठा र राष्ट्रनिर्माणमा लाग्नेहरूसँग भविष्यमा साझा प्रयासको अपेक्षा पनि उनले व्यक्त गरेका छन्।
पूर्वमधेस प्रदेश संयोजक, प्रवक्ता र अनुशासन समिति सदस्यसहित विभिन्न जिम्मेवारीमा रहेर योगदान दिएका कार्कीको यो कदमले राप्रपाभित्रको आन्तरिक असन्तोष झनै उजागर भएको देखिन्छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया