काठमाडौं । वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेको दुई हप्ता नपुग्दै संगठन विभागको मागले पार्टीभित्र असहज स्थिति सिर्जना भएको छ। गौतमले पार्टी प्रवेश गरेलगत्तै संगठन विभागको जिम्मेवारी मागे पनि उनको माग पार्टी नेतृत्वले अहिलेसम्म सम्बोधन नगरेको र यसले आन्तरिक विवाद चर्किएको छ।

हाल संगठन विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष वेदुराम भुसालको जिम्मामा रहेको छ। गौतमले भुसालको सट्टा आफूले यो जिम्मेवारी पाउनु पर्ने माग राखेपछि पार्टीभित्र उनलाई ‘पार्टी कब्जा गर्न खोजेको’ आरोप लाग्न थालेको छ। तर गौतमले भने आफूमा काम गर्ने गहिरो इच्छा र जोश रहेको कारण विभाग मागेको स्पष्टीकरण दिएका छन्।

advertisement

नेकपा (एस) का उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार संगठन विभागको विषयमा हालसम्म कुनै औपचारिक निर्णय भएको छैन। “सचिवालय बैठकमै छलफल गरेर मात्रै जिम्मेवारी निर्धारण हुन्छ,” खतिवडाले बताए। उनका अनुसार, अध्यक्ष माधवकुमार नेपालसँग व्यक्तिगत रूपमा गौतमले कुरा गरेको भए पनि पार्टी संरचनामा अहिलेसम्म कुनै निर्णय भएको छैन।

पार्टीका एक पदाधिकारीले गौतमलाई संगठन विभागको जिम्मेवारी दिने विषयमा कुनै प्रतिबद्धता नगरी ‘निशर्त’ रूपमा प्रवेश गराएको बताएका छन्। “उहाँलाई संगठन विभाग दिने भनेर ल्याइएको होइन, अध्यक्षको सल्लाहअनुसार मात्रै जिम्मेवारी तय हुनेछ,” ती पदाधिकारीको भनाइ छ।

गौतमले साउन २ गते नेकपा (एस) मा प्रवेश गरेका थिए। सो अवसरमा उनले समाजवाद निर्माणको चरणतर्फ अघि बढ्नुपर्ने बेला आएको बताएका थिए। लामो समय एमालेमै फर्कने प्रयास गरेका गौतम अन्ततः नेकपा एमालेबाट टुटेको नेकपा (एस) मा पुगेका हुन्।

गौतमले पार्टी प्रवेशको दिन आफू एक्लै नभई विभिन्न तहका कमिटीहरूको समर्थनसहित आएको दाबी गरेका थिए। उनले भनेका थिए, “म एक्लै आएको छैन। म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटी, एउटा प्रदेश कमिटी र उपत्यकास्थित नौ जिल्ला कमिटीको समर्थन लिएर आएको हुँ।”

तर पार्टीभित्र भने उनी केवल ‘एक जना व्यक्ति’ का रूपमा प्रवेश गरेका हुन् भन्ने धारणा बनाइएको छ। त्यसैले नेतृत्वले संगठन विभाग जस्तो शक्तिशाली जिम्मेवारी दिने विषयमा चासो नदिएको गुनासो गौतम निकट वृत्तबाट उठेको छ।

गौतमको सक्रियता र मागसँगै नेकपा (एस) भित्रको शक्ति सन्तुलनमा नयाँ बहस सुरु भएको देखिन्छ। पार्टी नेतृत्व भने तत्काल जिम्मेवारी बाँडफाँटमा चाँडो निर्णय नगर्ने संकेत दिइरहेको छ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com