काठमाडौं  ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले नयाँ नेतृत्व चयन गर्दै लालवीर चौधरीलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको छ। बिहीबार काठमाडौंको बानेश्वरमा सम्पन्न राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका संरक्षक रेशम चौधरीका पिता लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

पार्टीको नेतृत्वमा परिवर्तनका लागि आठ दिन लामो छलफलपछि अध्यक्ष चयन गरिएको जानकारी दिँदै अध्यक्ष लालवीरले पत्रकार सम्मेलनमा भने, “सम्पूर्ण संघ र प्रदेश सांसदहरूलाई यो निर्णयका लागि धन्यवाद दिन चाहन्छु। अब पार्टी विधि र पद्धति अनुसार अघि बढ्नेछ।”

advertisement

उनले पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षदेखि कुनैपनि बैठक नगरेको आरोप समेत लगाए। श्रेष्ठलाई सहमतिको लागि पुनः पार्टी बैठकमा फर्कन आग्रह गर्दै उनले भने, “उहाँले जुनसुकै अभिव्यक्ति दिइरहनु भएको छ, हामी त्यसको सामना गर्न तयार छौं।”

लालवीरले कात्तिक १७ गते रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनलाई दृष्टिगत गर्दै पार्टीमा नेतृत्वको निकास खोजिएको समेत उल्लेख गरे ।

श्रेष्ठबारे धेरै कुरा भन्न आफू इच्छुक नरहेको बताउँदै लालवीरले अध्यक्ष परिवर्तन पार्टीको लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको बताए।

लालवीर २०७९ सालको आम निर्वाचनमा बर्दियाबाट स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका थिए। सो निर्वाचनमा रेशम चौधरीको उम्मेदवारी खारेज भएपछि नाउपाले उनका बाबु लालवीरलाई समर्थन गरेको थियो।

हालै मात्र नाउपामा प्रवेश गरेका लालवीर संस्थापक सदस्य भने होइनन्। पार्टी २०७८ मा रेशम चौधरी जेलमा रहेका बेला पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको थियो। पछि रेशम जेलमुक्त भएपछि २०८० पुसमा आयोजित महाधिवेशनमार्फत पार्टी अध्यक्ष बनेका थिए।

तर, निर्वाचन आयोगले नयाँ नेतृत्वको वैधता नदिएपछि नाउपा पुरानै कार्यसमितिमा फर्किएको थियो। आयोगको निर्णयविरुद्ध रेशम सर्वोच्च अदालत गएका छन्, मुद्दा हाल विचाराधीन अवस्थामा छ।

उता, पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले भने हालको नेतृत्व परिवर्तनलाई अवैध बताउँदै निर्वाचन आयोगले लालवीर नेतृत्वको कार्यसमितिलाई मान्यता नदिने विश्वास व्यक्त गरेको छ।

अघिल्लो वर्ष पोखराको लिचीबारी घूस प्रकरणमा श्रेष्ठ मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी थिइन्। तर पछिल्लो विवादपछि श्रेष्ठले आफूलाई “अवैध भेलाले हटाउन नसक्ने” दाबी गर्दै आएकी छन्।

नयाँ नेतृत्व चयनसँगै नाउपामा नेतृत्वको स्पष्टता देखिए पनि रञ्जिता पक्ष र नयाँ अध्यक्ष पक्षबीचको विवाद अझै टुंगिएको छैन।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com