काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरूबीच भएको सात बुँदे सहमतिको अवमूल्यन गर्न नहुने बताएका छन्। उनले राजनीतिक स्थिरता ल्याउनका लागि उक्त सहमति निर्णायक भएको दाबी गरेका हुन्।
सिंहले रामेछापको गुन्सी–१ मा साउन १५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस र नेकपा एमालेसहितका दलहरूको सहमतिमा बनेको वर्तमान सरकारले स्थायित्वको वातावरण सिर्जना गरेको बताए।
“६–७ महिनामै सरकार परिवर्तन हुने आशंका भइरहेका बेला ७ बुँदे सहमतिबाट राजनीतिक स्थिरता सम्भव भएको हो,” सिंहले भने, “स्थिरताको जगमा सरकार जनताको जीवन र जीविकालाई सहज बनाउन क्रियाशील छ।”
सिंहले बागमती प्रदेशको संसदीय दलमा नेतृत्व परिवर्तनसँग सम्बन्धित विवादबारे पनि टिप्पणी गरे। उनले पूर्वसहमति कार्यान्वयन नभएकाले विवाद बाहिरिएको बताउँदै विश्वासको संकटले पार्टी सञ्चालन प्रभावित हुने स्पष्ट पारे। “सहमतिअनुसार अघि बढिएको भए विवाद सार्वजनिक हुने थिएन,” उनले भने।
उनले बागमती प्रदेशको निर्णय कुनै जात विशेष लक्षित नभएको भन्दै, कांग्रेसकै नेतृत्वमा जारी भएको समावेशी संविधानअनुसार पदाधिकारीहरूले आचरण गर्नु पर्ने बताए।
पूर्वमहामन्त्रीसमेत रहेका सिंहले कांग्रेसलाई विधिसम्मत र संस्थागत रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिए। “०५६ सालदेखि म यो कुरा भन्दै आएको छु,” सिंहले भने, “प्रधानमन्त्री र सभापति बाहेकका सबै भूमिकामा काम गरिसकेको नाताले अब बाँकी जीवन पार्टी सुदृढीकरणमा समर्पित गर्नेछु।”
कार्यक्रममा रामेछापका नेताहरूले पार्टीभित्रको गुटबन्दी र अराकजता बढेको भन्दै पार्टीलाई विधिसम्मत रूपमा सञ्चालन गर्न केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार












प्रतिक्रिया