काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रूसी कम्युनिस्ट नेता जोसेफ स्टालिनसँग तुलना गर्दै गम्भीर आरोप लगाएका छन्।

अंग्रेजीको चर्चित भनाइ “हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट केही पनि सिक्दैनौं” उद्धृत गर्दै भट्टराईले नेपालका कम्युनिस्टहरू स्टालिनकालीन सोभियत कम्युनिस्ट आन्दोलनकै बाटोमा हिँडिरहेको दाबी गरेका छन्।

advertisement

उनका अनुसार, “२०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन आज रूसको झैं पतनको दिशामा अगाडि बढ्नु दुर्भाग्यपूर्ण विषय हो। संसारमा झन्डै ७५ वर्ष शासन गरेर इतिहासबाटै हराएको रूसी कम्युनिस्ट पार्टीको नियतिको पुनरावृत्ति नेपाली कम्युनिष्ट आन्दोलनमा देखिन थालिएको छ।”

भट्टराईले एमाले र माओवादी केन्द्रभित्र वैचारिक स्खलन, नेतृत्वप्रतिको अन्धभक्ति, र सत्तामा बस्दा समेत गुणात्मक उपलब्धि हासिल गर्न नसक्ने प्रवृत्ति ब्रेजनेभ कालको झल्को दिने बताए। “अहिलेको अवस्था सुनिएर मोटाएको पार्टीको हो जस्तो लाग्छ, जसले ठूला गफ त दिन्छ, तर आम जनताको जीवनमा परिवर्तन ल्याउने कुनै ठोस उपलब्धि छैन,” उनले टिप्पणी गरे।

भट्टराईको भनाइमा, आजको पार्टी प्रवृत्तिमा स्टालिनको शैली झल्किन्छ—नेतृत्वसँग असहमत हुनेहरूलाई आरोप लगाएर राजनीतिक तथा सांगठनिक रूपमा निष्कासन गर्ने, अलग्गै पार्ने, र एकाधिकारवादी सोच लाद्ने काम भइरहेको छ।

“स्टालिनले लेनिनका समकालीन नेताहरूलाई भौतिक रूपमा सफाया गरेझैं अहिलेका ओली र प्रचण्डले आफ्ना आलोचकहरूलाई राजनीतिक र सांगठनिक रूपमा सफाया गर्ने रणनीति अपनाएका छन्,” भट्टराईले आरोप लगाए।

उनले थपे, “आज पनि पुरानै एकनायकवादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक रूपमा बाँधिएर बस्नेहरू एकअर्कालाई ताली पिट्दै साथ दिँछन्, तर अन्ततः आफू नै त्यही नियतिमा पुग्छन्। अब समय आएको छ—त्यसबाट पाठ सिकेर नयाँ वैकल्पिक बाटोको खोजी गर्न।”

भट्टराईले कम्युनिस्ट आन्दोलनको विगतबाट शिक्षा लिएर अब समाजवाद निर्माणको वैकल्पिक बाटो निर्माण गर्ने साहस राख्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com