काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार काठमाडौँको परिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकको प्रारम्भमा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकका एजेण्डा प्रस्तुत गरेका छन्।
स्थायी समिति बैठकमा एजेण्डामाथि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटसम्मको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए। उनका अनुसार आवश्यकता अनुसार छलफलको समय लम्बिन सक्नेछ। “अहिले नै कुनै निष्कर्षमा पुग्ने होइन, सबैको विचार सुनिसकेपछि मात्रै निर्णयमा पुगिन्छ,” गजुरेलले बताए।
यसअघि बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँचवटा एजेण्डा तय गरेको थियो। तीमध्ये पछिल्लो समय चर्किएको अन्तरविरोधको हल र त्यसका लागि अपनाइने विधि तथा प्रक्रिया छलफलको केन्द्रमा रहने जनाइएको छ।
हालै अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच देखिएको अन्तरविरोध सार्वजनिक रूपमा चर्किएको सन्दर्भमा सुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिर दुवै तर्फबाट चासोका साथ हेरिएको छ।
बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन्। यस्तै, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समितिको बैठकको मिति तय गर्ने, समाजवादी मोर्चाको विस्तार, संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरण, बाढीपहिरो लगायत प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक तथा जनजीविकासम्बन्धी प्रस्ताव तयारीसम्बन्धी विषयहरू एजेण्डामा रहेका छन्।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया