काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्दै छन्।

यो सम्मेलन साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८, २०२५) तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा आयोजना हुँदैछ।

advertisement

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोका अध्यक्षका रूपमा सम्बोधन गर्नेछन्। साथै, सम्मेलनअन्तर्गत एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्नुका साथै विभिन्न सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुने छन्।

प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com