संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरताको आधार सीपमूलक तालिम भएको बताएका छन्। संखुवासभालाई जलविद्युत्को केन्द्रको रूपमा विकास गर्न स्थानीय जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउनु जरुरी रहेको उनको भनाइ छ।

खाँदबारी नगरपालिका–१ मा सुरु भएको २० दिने पावर हाउस सञ्चालन तथा मर्मतसम्भार तालिमको उद्घाटन कार्यक्रममा मन्त्री खड्काले भने, “अरुण तेस्रो, अपर अरुण, लोअर अरुण र अरुण चौथोजस्ता बहुचर्चित जलविद्युत् आयोजनाहरू निर्माणको चरणमा छन्। यी आयोजनाबाट स्थानीय युवाहरूले प्रत्यक्ष लाभ लिनुपर्छ।”

advertisement

उनले आयोजनाहरूको दीर्घकालीन सफलताका लागि स्थानीय स्तरमै सीप विकास गर्नु अत्यावश्यक रहेको उल्लेख गरे। “प्राविधिक सीप हासिल गरेका युवाहरूको भूमिकाबिना जलविद्युत् आयोजनाको पूर्ण सफलता सम्भव छैन,” उनले जोड दिए।

मन्त्री खड्काले थपे, “सीप विकास केवल रोजगारीको माध्यम होइन, आर्थिक सबलीकरण र आत्मनिर्भरतामा पुग्ने मुख्य आधार हो। जलविद्युत् सम्भावनायुक्त यस जिल्लामा सीप विकासमार्फत युवाहरूलाई सशक्त बनाउनु आजको आवश्यकता हो।”

ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जानकारी पनि दिए। त्यसअन्तर्गत स्वास्थ्य, निर्माण, काठ मिस्त्री, पाइप जडान र विद्युतीय क्षेत्रका मिस्त्रीलगायतका तालिम कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कार्यक्रममा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने विश्वास व्यक्त गर्दै यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com