काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागू औषधमुक्त राष्ट्र बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै प्रहरीलाई अझ प्रभावकारी र समन्वयात्मक रूपमा अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।
शुक्रबार कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्युरोको निरीक्षण गर्दै मन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डारण र प्रयोग मुलुकका लागि गम्भीर चुनौती बन्दै गएको बताए।
उनले भने, “लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता समस्याहरू उत्पन्न गर्छन्। यही सन्दर्भमा हामीले एक वर्षअघि सुरु गरेको लागू औषधविरुद्धको महाअभियान सार्थक साबित भएको छ।”
मन्त्री लेखकका अनुसार अघिल्ला वर्षहरूको तुलनामा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ। “स्रोत र साधनको कमी हुँदाहुँदै पनि दृढ इच्छाशक्ति र समर्पणका साथ काम गर्दा परिणाम आउँछ भन्ने उदाहरण हामीले देखाएका छौं,” उनले जोड दिए।
उनले लागू औषध विरुद्धको अभियानमा सरकारी संयन्त्र मात्र होइन, सम्पूर्ण नागरिक समाजको सहकार्य अपरिहार्य रहेको बताए। “विशेषगरी युवापुस्तामा लागू औषधको लत गम्भीर समस्याका रूपमा देखिएको छ। युवाहरू देशको भविष्य हुन्, उनीहरूलाई बचाउन यो अभियान सबैको साझा जिम्मेवारी हो,” उनले स्पष्ट पारे।
मन्त्री लेखकले लागू औषध नियन्त्रण ब्युरोलाई विभागको रूपमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै सो कार्यका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन पनि दिए।
कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले ब्युरोलाई विभागको रूपमा विस्तार गर्ने गृहमन्त्रीको प्रस्ताव स्वागतयोग्य रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा पूर्ण सहयोग रहने विश्वास दिलाए।
प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार












प्रतिक्रिया