काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तरविरोधलाई सार्वजनिक गर्न थालेको भन्दै उपमहासचिव जनार्दन शर्मा प्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका आन्तरिक विषयहरू निरन्तर बाहिर ल्याइनु उचित नहुने भन्दै यस्तो प्रवृत्ति तत्काल रोकिनुपर्ने चेतावनी दिए।

advertisement

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले स्पष्ट रूपमा भने, “पछिल्लो समय प्रभाकरजीका अभिव्यक्तिहरू लगातार सार्वजनिक भइरहेका छन्। यसले पार्टीको हित गर्दैन। जनार्दनजी मात्र होइन, अन्य साथीहरूले पनि आन्तरिक कुरा मिडियामा लैजान छाड्नुपर्छ। मिडियाले यस्ता विषयलाई उचाल्दा पार्टीको छवि धूमिल हुन्छ। हामी सबैले आत्मआलोचना गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ।”

असार ६ र ७ गते नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमा आरोप–प्रत्यारोप चलेपछि पार्टी नेतृत्वमा तनाव बढेको थियो।

बैठकमा प्रचण्डले पार्टीभित्र कम्युनिस्ट आचरण कमजोर हुँदै गएको र व्यक्तिगत स्वार्थ समूहहरू हावी हुँदै गएकोप्रति पनि गहिरो चिन्ता व्यक्त गरेका थिए। अर्का एक नेताका अनुसार, “अध्यक्षले विचार समूहभन्दा स्वार्थ समूह बलियो हुन थालेको उल्लेख गर्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ भनेर जोड दिए।”

यद्यपि प्रचण्डले जनार्दन शर्मालाई कारबाही गर्ने वा पार्टीबाट हटाउने जस्तो औपचारिक प्रस्ताव भने नराखेको ती नेताको भनाइ छ।

बैठकमा राखिएको एजेन्डामाथि शनिबारदेखि विस्तृत छलफल हुने कार्यक्रम तय भएकाले शुक्रबार अन्य नेताहरूले धारणा नराखेको जनाइएको छ।

यता उपमहासचिव हरिबोल गजुरेलले भने बैठकमा अन्तरविरोधसम्बन्धी कुनै औपचारिक छलफल नभएको दाबी गरे। उनका अनुसार स्थायी समिति बैठक शनिबार बिहान ११ बजे पुनः बस्नेछ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com