काठमाडौं । दोस्रो चरणको पेट्रोलियम पाइप लाइन परियोजनाको निर्माण सुरु भएको छ । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइप लाइन विस्तार औपचारिक रूपमा सुरु भएको हो । तीन महिनालाई पुग्ने पेट्रोलियम भण्डारणगृह निर्माण गर्ने सरकारको लक्ष्य अनुसार पाइप लाइन विस्तारसँगै भण्डारणगृहको काम अघि बढेको हो ।
नेपाल आयल निगमले शुक्रबार लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको काम थालेको हो । राप्ती नगरपालिका–१, लोथरस्थित करिब २३ बिघा १२ कट्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रिन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसन ९आइओसी० को मोतीहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लागि पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने निगमले जनाएको छ । अमलेखगन्जदेखि लोथरसम्मको ६२ किलोमिटरको दुरीमा १०।७५ इन्चको पाइपलाइन बिछ्याइने निगमले जनाएको छ ।
परियोजना प्रमुख प्रदीपकुमार यादवले पाइप लाइन विस्तारको सबै कागजी प्रक्रिया पूरा भएको र भोलिदेखि सडक निर्माण गर्ने, आइओसीसँग समन्वय गर्ने काम सुरु हुने र तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने बताए । पाइप लाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने विश्वास लिइएको छ ।
निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले परियोजनाका तर्फबाट स्थानीयलाई रोजगारीलगायत व्यवस्था गरिने जानकारी दिए । राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले चितवनकै गौरवको परियोजना यस क्षेत्रमा कार्यान्वयनमा आउँदा स्थानीय खुसी भएको बताए ।
पाइप लाइनबाट २७३ किलोलिटर प्रतिघण्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइप लाइन निर्माण गरिने छ ।
पाइप लाइनबाट वार्षिक दुई करोड टन इन्धन ढुवानी गर्न सकिने निगमले जनाएको छ । लोथरमा १६० वर्गमिटरको क्षेत्रफलमा पाइप लाइन स्टेसन निर्माण हुने छ ।
त्यस स्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा ठाडा ट्याङ्की निर्माण हुने छन् । यस्तै डिजेल भण्डारणका लागि १५ हजार पाँच सय किलोलिटर क्षमताका तीन वटा र मटितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की निर्माण गरिने छ ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया