विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलिसँग सम्बन्धित जग्गा प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पारेका छन्। उनले आफ्नो जीवनमा कहिल्यै एक रुपैयाँसमेत भ्रष्टाचार नगरेको दाबी गर्दै हाल लागेको मुद्दालाई पूर्वाग्रही र राजनीति प्रेरित भनेका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले पतञ्जलिलाई जग्गा दिने निर्णय सबै कानुनी प्रक्रिया र औपचारिकताहरू पुरा गरेरै गरिएको बताए। ‘यो कुनै भ्रष्टाचारको मुद्दा नै होइन। मैले जिन्दगीभर कसैको पैसा तलमाथि गरेको छैन,’ अध्यक्ष नेपालले भने, ‘यस प्रकरणमा त त्यस्तो कुरा कल्पना पनि गर्न सकिन्न।’

advertisement

उनका अनुसार जग्गासम्बन्धी निर्णय स्थानीय तहदेखि मन्त्रालय र मन्त्रिपरिषद्‌सम्मको सर्वसम्मत निर्णयका आधारमा गरिएको हो। ‘जिल्लाबाट प्रक्रिया सुरु भयो, मन्त्रालय, उपसचिव, सहसचिव, सचिव हुँदै राज्यमन्त्री र पूर्ण मन्त्रीको सहमति प्राप्त गरेर अन्त्यमा मन्त्रिपरिषद्‌मा सर्वसम्मत रूपमा निर्णय भएको हो,’ उनले प्रष्ट पारे।

नेपालले सो प्रकरणमा कानुन, ऐन र संविधानको कुनै पनि उल्लंघन नभएको जिकिर गर्दै हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न कानुनले स्वीकृति दिएको र त्यसबेलाको सरकारले सार्वजनिक सूचना जारी गरेर नै प्रक्रिया अघि बढाएको स्मरण गराए।

‘एक इन्च सरकारी जग्गा दिइएको छैन। कानुनअनुसार सबै प्रक्रिया पुरा गरिएको छ,’ अध्यक्ष नेपालको भनाइ थियो। उनले आफूलाई लक्षित गरी मुद्दा चलाइएको संकेत दिँदै सम्पूर्ण विधिको पालना भएको अवस्थामा भ्रष्टाचारको कुनै प्रश्न नै उठ्न नसक्ने धारणा राखे।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com