काठमाडौं । काठमाडौं उपत्यकाभित्र बढ्दै गएका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले व्यापक अपरेशन थालेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई निष्क्रिय पार्ने उद्देश्यसहित अपरेशन तीव्र रुपमा सञ्चालन भइरहेको जानकारी दिएका छन्।
“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्,” एसएसपी अधिकारीले भने, “काठमाडौंमा अपराधमा संलग्न व्यक्तिहरूको सूची बनिसकेको छ। ती सबैलाई खोजी गरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ।”
यही अभियान अन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालामा विशेष छापा मारी ४७ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामध्ये ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङसहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीतको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए।
अन्य २८ जनालाई भने प्रहरीमा नियमित हाजिर हुने शर्तमा रिहा गरिएको छ। तर, उनीहरूमाथि पनि प्रारम्भिक अनुसन्धान जारी नै रहेको अधिकारीले स्पष्ट पारे।
“१९ जनामाथि अन्य थप उजुरीहरू दर्ता हुने सम्भावना छ। यदि कसैले उनीहरू विरुद्ध उजुरी गर्न चाहनुहुन्छ भने खुला छ,” उनले भने, “छाडिएका व्यक्तिहरूका गतिविधि पनि निगरानीमा छन्। आवश्यक परे उनीहरूमाथि पनि कारबाही हुनेछ।”
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहकार्यमा अपरेशन निरन्तर जारी रहने प्रहरीले जनाएको छ। प्रहरीले आपराधिक गतिविधिविरुद्ध कुनै पनि दबाब वा हस्तक्षेप नस्वीकार्ने स्पष्ट संकेत दिएको छ।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया