काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिअन्तर्गत रिक्त सिटहरूमा भर्ना गर्न पुनः अनलाइन आवेदन आह्वान गरेको छ।
पहिलो र दोस्रो मनोनयन सूचीबाट भर्ना सम्पन्न भए पनि विभिन्न शिक्षण संस्थाहरूमा सिट खाली रहेपछि महानगरले ‘र्यापअप’ चरणमा अन्तिम मनोनयनका लागि पुनः आवेदन खुला गरेको हो।
महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरूले साउन १८ गते साँझ ५:०० बजेसम्म अनलाइन फारम बुझाइसक्न आग्रह गरेको छ।
यसअघि साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरिएको थियो। सो परीक्षाको आधारमा साउन ६ गते पहिलो तथा साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरिएको थियो। ती दुई चरणको मनोनयनपछि पनि बाँकी रहेका सिटहरू भर्न यो अन्तिम अवसर प्रदान गरिएको हो।
महानगरका अनुसार प्रवेश परीक्षामा सहभागी भएर पनि सूचीमा नाम नपरेका, शिक्षण संस्थामा समस्या परेर विभागमा निवेदन दिएका वा अन्तिम मनोनयनमा समावेश हुन चाहने सबै विद्यार्थीहरूले पुनः आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार













प्रतिक्रिया