गाजा । इजरायली नाकाबन्दीका कारण गाजामा भोकमरी चुलिँदै गएको छ। मानवीय राहतकर्मीहरूले झण्डै १० हजार भोकमरी पीडित परिवारलाई नगद सहायता प्रदान गरे तापनि बजारमा खाद्यान्नको अभावले ती परिवारलाई खाद्य सामग्री किन्न कठिन भएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (OCHA) का अनुसार गाजामा बजार मूल्यहरू अत्यन्त अस्थिर छन्। अत्यावश्यक सामानको मूल्य सामान्य नागरिकको पहुँच बाहिर पुगेको छ।

advertisement

इजरायलले केही सीमित मात्रामा राहत सामग्री गाजामा प्रवेश गर्न अनुमति दिए पनि त्यो सहयोग अत्यन्तै न्यून रहेको बताइएको छ। राहत बोकेका गाडीहरूलाई तोकिएका बाटाहरूमा अवरोध, जोखिमपूर्ण स्थिति तथा आक्रमणको डरले कार्य सञ्चालनमा निकै कठिनाइ भइरहेको छ।

खाद्यान्न अभावका कारण जनजीवन दिनप्रतिदिन संकटग्रस्त बन्दै गएको छ। खाना खोज्ने क्रममा नागरिकहरू घाइते र मारिने क्रम बढ्दो छ। पछिल्लो दुई दिनमै राहत वितरण केन्द्र तथा ढुवानी मार्ग नजिकै सयभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

संयुक्त राष्ट्र बाल कोष (UNICEF) का उपकार्यकारी निर्देशकले भने, “गाजाको मानवीय संकट समाधानका लागि दिनमा कम्तीमा ५०० राहत सामग्रीका ट्रक प्रवेश गरिनु अत्यावश्यक छ। सबै उपलब्ध नाका र मार्गहरू प्रयोग गरेर आपूर्ति सुनिश्चित गरिनुपर्छ।”

इन्धन अभाव पनि अर्को गम्भीर समस्या बनेको छ। गाजामा केही मात्रा इन्धन पुगेको भए पनि स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र आपतकालीन सञ्चार प्रणाली सञ्चालन गर्न आवश्यक पर्ने लाखौँ लिटर इन्धन अझै नपुगेको बताइएको छ।

राहत सामग्री लाने गाडीहरू प्रायः बाटोमै रोकिएर जाँच र अवरोध सहनुपर्ने भएकाले वितरणमा ढिलाइ भइरहेका छन्। यसले गाजाबासीको पीडा झनै बढाएको छ।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com