काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको ‘पार्टी छोड्नुपर्ने’ अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाएका छन्। शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा खनालले अध्यक्ष नेपालको टिप्पणीलाई “पेटी बुर्जुवा चिन्तन” र “तल्लो स्तरको अभिव्यक्ति”को संज्ञा दिए।

खनालको तीव्र प्रतिक्रिया शुक्रबार अध्यक्ष नेपालले दिएका अभिव्यक्तिपछि आएको हो। अध्यक्ष नेपालले ‘खनालले पार्टीमा बस्ने नैतिक आधार गुमाइसकेकाले उनले राजीनामा दिएर पार्टी छाड्नुपर्छ’ भन्ने धारणा सार्वजनिक रूपमा राखेका थिए।

advertisement

“उहाँले मलाई पार्टी छोड्न आदेश दिनुभयो रे, म सुनेर स्तब्ध भएँ,” खनालले भने, “एक कम्युनिस्ट पार्टीमा यस्तो चरित्र देखिनु दुर्भाग्यपूर्ण हो। पार्टीमा कुनै मतभेद भए छलफल गरिन्छ, बहस गरिन्छ, समाधान खोजिन्छ—आदेश दिएर न त सदस्यता खोसिन्छ, न मान्छे निकालिन्छ।”

खनालले आफू र नेपालबीचको मतभेदलाई वैचारिक र सैद्धान्तिक बताउँदै त्यसलाई व्यक्तिगत झगडाका रूपमा चित्रित गर्न खोजिएको आरोप लगाए।

एकीकृत समाजवादी गठनपछि चार वर्ष बितिसक्दा पनि एमाले विभाजनको औचित्य कार्यकर्तामाझ स्पष्ट पार्न नसकेको खनालको आरोप थियो। “दक्षिणपन्थी अवसरवादविरुद्ध क्रान्तिकारी पार्टी बनाउने भनिए पनि, अहिलेसम्म त्यो अवसरवाद के हो भन्नेबारे नेतृत्वले एक लेखसम्म पनि लेख्न सकेको छैन,” उनले गम्भीर आरोप लगाए।

खनालका अनुसार, यही असन्तोषका कारण पार्टीभित्र कार्यकर्तामाझ निराशा गहिरिँदै गएको छ। “डेढ लाख कार्यकर्ता आज कुन औचित्य बोकेर जनतामाझ जाने ? यही पीडा म पार्टीभित्र राख्दै आएको छु,” उनले भने।

खनालले अध्यक्ष नेपालमाथि ‘बहुदलीय जनवाद’को घेरामा सीमित रहने आरोप लगाउँदै महाधिवेशनबाट पारित नीति तथा दस्तावेजहरू समेत मनपरी रूपमा तोडमोड गरिएको दाबी गरे। पार्टी सचिवालय र स्थायी समिति बैठकमा पटक–पटक छलफलको माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ।

“समस्या समाधानको थलो पार्टी हो, मिडिया होइन। तर अध्यक्षज्यू मिडियामार्फत एकतर्फी आदेश दिनुहुन्छ,” खनालको टिप्पणी थियो, “कम्युनिस्ट पार्टीमा बहसको परम्परा हुन्छ, निर्देशन होइन।”

पार्टी विभाजनका विषयमा केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा झलनाथ खनालले एमाले विभाजन गलत निर्णय भएको निष्कर्षमा पुगेको अभिव्यक्ति दिएका थिए। उनले एकीकृत समाजवादीको औचित्य स्थापित हुन नसकेको धारणा राखेपछि अध्यक्ष नेपाल आक्रोशित भएका थिए। यही घटनाले दुवै नेताबीचको वैचारिक मतभेद सतहमा ल्याएको हो।

प्रकाशित मिति: १७ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com