काठमाडाैं । इस्लामिक संगठन हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम राष्ट्र नबनेसम्म आफ्ना हतियार नबिसाउने स्पष्ट घोषणा गरेको छ।
विज्ञप्ति जारी गर्दै हमासले आफ्नो सशस्त्र संघर्ष अन्त्य नहुने बताएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार, हमासले भनेको छ, “जबसम्म प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा स्थापित हुँदैन, हाम्रो संघर्ष जारी रहनेछ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व मामिला हेर्ने विशेष दूत स्टिभ विटकोफ गाजाको भ्रमणमा पुगेका थिए। उनले त्यहाँको मानवीय अवस्था अवलोकन गरेका थिए। विटकोफले भ्रमणपछि हमास हतियार त्याग्न सक्ने संकेत दिएको बताएका थिए। तर हमासको पछिल्लो भनाइले त्यो सम्भावनामा प्रश्न उठेको छ।
इसराइलले पनि युद्धविरामका लागि प्रमुख शर्तकै रूपमा हमासले हतियार त्याग्नुपर्ने अडान राख्दै आएको छ। यस्तै, केही दिनअघि अरब मुलुकहरूले समेत गाजामा प्रशासनिक जिम्मेवारी फिर्ता गर्न र हतियार त्याग्न हमासलाई आग्रह गरेका थिए। तर हमासले ती प्रस्ताव अस्वीकार गर्दै सशस्त्र संघर्ष जारी राख्ने अडान दोहोर्याएको हो।
यसैबीच, हमास र इसराइलबीच अप्रत्यक्ष वार्ता हुँदै आएको युद्धविराम तथा बन्धक मुक्तिको प्रक्रिया गत हप्तादेखि रोकिएको छ।
युद्धविराम प्रयास अलपत्र पर्दै जाँदा गाजाको अवस्था झन् भयावह बनेको छ। लाखौं मानिसहरू भोकमरीको चपेटामा परेका छन्।
मानवीय संकट तीव्र भएपछि इसराइलले केही दिनदेखि गाजामा खाद्यान्न सहायता पुर्याउने नाका खोल्न थालेको छ। तर संकट समाधानतर्फ स्पष्ट बाटो नखुलेको विश्लेषकहरूको भनाइ छ।
त्यसैगरी, फ्रान्स, क्यानडा लगायतका पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने तयारी गरिरहेका छन्। बेलायतले समेत इसराइलले सेप्टेम्बरसम्म युद्धविरामका लागि आवश्यक शर्त नमान्ने हो भने, प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा गरिसकेको छ।
यता, इसराइली पक्षबाट भने वार्ता पुनः सुरु गर्नेबारे कुनै ठोस धारणा सार्वजनिक गरिएको छैन। जसका कारण युद्धविराम सम्बन्धी कूटनीतिक प्रयास फेरि अनिश्चित बनेको छ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया