काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक फेरि विद्रोह अपरिहार्य भएको बताउँदै त्यसको तयारीमा आफू लागेको बताएका छन्।
दोलखाको बोत्ले हत्याकाण्डको स्मृति सभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्धपछि अहिलेको समयलाई फेरि एक क्रान्तिको आवश्यकता रहेको बताएका हुन्। उनले जनताको पक्षमा क्रान्तिको नेतृत्व लिन आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
“एकचोटि फेरि क्रान्ति आवश्यक भएको छ,” प्रचण्डले भने, “नयाँ विद्रोहबाट प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्नैपर्छ। म यसको तयारीमै छु।”
उनले केही समयमै माओवादी केन्द्रको नेतृत्वमा “मध्यपहाडी यात्रा” सुरु हुने जनाउँदै शहीद परिवारहरूका घरमा पुग्ने र उनीहरूको दुःख–सुख बुझ्ने कार्य अगाडि बढिरहेको बताए। “हामी फेरि वर्गसँग जोडिँदै छौं,” उनले थपे।
यसै क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएका बेला ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको मान्यता दिने निर्णय भए पनि अदालतको आदेशले त्यसलाई कार्यान्वयन गर्न नपाइएको उल्लेख गरे।
२०५९ साल साउन १८ गते दोलखाको तत्कालीन काटाकुटी गाविस–१ स्थित बोत्लेमा सुरक्षाफौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो। सो घटनालाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’को रूपमा स्मरण गर्दै आएको छ। स्मृति कार्यक्रममा सहभागी भएका पूर्वमन्त्री विशाल खड्काले शहीदहरूको बलिदानलाई स्मरण गर्नु आजको आवश्यकता भएको बताए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया