काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणाली अत्यन्तै समस्याग्रस्त अवस्थामा रहेको बताएका छन्।
ललितपुरमा आज आयोजित “जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात” विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री दाहालले यातायात क्षेत्रको दयनीय अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
उनले काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेट्ने उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक केन्द्र भए पनि यहाँको यातायात संरचना समयानुकूल बन्न नसकेको स्पष्ट पारे।
दाहालका अनुसार सन् २०१२ मा तयार पारिएको र २०१७ मा अद्यावधिक गरिएको मास्टरप्लानको अवधिपछि उपत्यकाको यातायात अवस्था झनै बिग्रिएको छ।
“बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण र अपर्याप्त पूर्वाधारका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम, ढिलाइ र वायुप्रदूषण जस्ता समस्या भयावह बन्दै गएका छन्,” मन्त्री दाहालले बताए।
उनले यी समस्याले न केवल दैनिक जीवनलाई प्रभावित पारेको, बरु समग्र आर्थिक उत्पादकत्व र जनस्वास्थ्यमा समेत नकारात्मक असर पारेको बताए।
मन्त्री दाहालले नेपालको संविधान, दीर्घकालीन दृष्टिकोण २०४३, १६औं योजना तथा राष्ट्रिय यातायात नीतिले समावेशी, स्वच्छ र समृद्ध नेपाल निर्माणको परिकल्पना गरेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाको वर्तमान अवस्था ती योजनासँग मेल नखाने बताए।
उपत्यकाको सहरी यातायात प्रणाली सुधारका लागि अघि सारिएको मास्टरप्लान परियोजनाले ट्राफिक जाम, प्रदूषण र असमान पहुँचजस्ता समस्यालाई सम्बोधन गर्दै दिगो आर्थिक विकास र वातावरणीय सन्तुलन कायम राख्ने लक्ष्य राखेको उनको भनाइ थियो।
कार्यक्रममा मन्त्री दाहालले चेतावनी दिँदै भने, “यदि अब पनि निर्णायक र प्रभावकारी कदम चालिएन भने स्थिति अझै भयावह बन्छ।”
उनले नीति, योजना र कार्यान्वयनबीचको खाडल चिर्दै सहरी यातायात सुधारतर्फ तत्काल ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार












प्रतिक्रिया