काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक नयाँ ढंगको क्रान्ति र विद्रोह आवश्यक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र बढ्दै गएकाले त्यसको सामूहिक प्रतिरोध अपरिहार्य भएको बताए।

advertisement

उनले जनयुद्धदेखि शान्ति प्रक्रिया, संविधान निर्माणसम्मको यात्रा स्मरण गर्दै अहिले फेरि नयाँ क्रान्तिको आवश्यकता महसुस भइरहेको बताए।
“म जनयुद्धको तयारी, त्यसको नेतृत्व, शान्ति सम्झौता र संविधानसभामार्फत यो ठाउँमा आइपुगेको छु। अझै पनि जीवन्त भएर नेतृत्व गरिरहेकै कारण आज फेरि एकचोटि नयाँ ढंगको विद्रोह आवश्यक छ भन्ने दृढ संकल्पमा हामी अघि बढिरहेका छौं,” प्रचण्डले भने।

उनका अनुसार पार्टी हाल प्रतिक्रियावादी षड्यन्त्रको प्रतिरोधमा एकताबद्ध भइरहेकाले आम कार्यकर्ता र जनसमुदायको सक्रिय साथ जरुरी भएको छ। “हामी फेरि वर्ग संघर्षको बल निर्माण गर्दैछौं,” उनले थपे।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढिरहेको भए पनि त्यसमा पनि अवरोध र चलखेल भइरहेका दाबी गरे। “काम अघि बढेको छ, तर त्यसमा पनि साना–ठूला चलखेल भइरहेका छन्। तीव्र दृष्टिले निगरानी नगर्ने हो भने फेरि संकट आउन सक्छ,” उनले भने।

त्यसैगरी, उनले जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिनु पर्ने पक्षमा दृढ अडान राखे। “जनयुद्धलाई राष्ट्रिय दिवस नमान्नुपर्ने कुनै कारण छैन। यो अदालतमा लैजाने विषय होइन। बरु यसलाई राष्ट्रिय गौरवको दिनका रूपमा आत्मसात् गर्नुपर्छ,” प्रचण्डले जोड दिए।

कार्यक्रममा उनले पार्टी र कार्यकर्ताहरूलाई एकताबद्ध भई परिवर्तन विरोधी तत्वहरूको सामना गर्न अपिल गर्दै नयाँ राजनीतिक मोर्चा खोल्ने संकेतसमेत दिए।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com