काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनउत्तरदायी, पारदर्शी र जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।
विराटनगरमा आइतबार गुराँस पुस्तकालयद्वारा आयोजित ‘मुक्ति प्रसाद–यदुनाथ चापागाईं सम्मान’ कार्यक्रममा बोल्दै उनले नागरिकले सुशासनको अनुभूति गर्न नसकेको स्पष्ट पारे।
“अहिलेको सरकार पारदर्शी छैन, न जवाफदेही छ, न उत्तरदायी। यी सबैको जग सुशासन हो, जुन हामीले जनतालाई दिन सकेका छैनौं,” कोइरालाले भने।
उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्यसम्पादन प्रभावकारी नहुँदा लोकतन्त्र नै जोखिममा परेको धारणा राखे। “तीनै अंग ठीकसँग काम नगरेको अवस्थामा लोकतन्त्र बलियो हुँदैन। प्रधानमन्त्री वा मन्त्री फेरिएर मात्रै मुलुक अगाडि बढ्दैन,” उनले जोड दिए।
कोइरालाले मुलुकको वर्तमान निर्वाचन प्रणालीले मिलिजुली सरकार बनाउने बाध्यता सिर्जना गरेकाले राजनीतिक दलहरूले सैद्धान्तिक मूल्य नत्याग्न आग्रह गरे।
“हामीले अपनाएको निर्वाचन प्रणालीले बहुमत ल्याउने अवसर कठिन बनाएको छ। त्यसैले गठबन्धन अनिवार्यजस्तै बनेको छ,” उनले भने, “तर गठबन्धनको नाममा सिद्धान्त र व्यवहार त्याग्दै जाने हो भने, कांग्रेसको स्वरूप नै बिग्रिन्छ। यो गम्भीर चिन्तनको विषय हो।”
उनले लोकतन्त्रलाई मजबुत बनाउन संवैधानिक अंगहरूको सुदृढीकरण र राजनीतिक आचरणको सुधार अनिवार्य रहेको धारणा पनि राखे।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया