काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक नयाँ विद्रोह आवश्यक रहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद स्मृति कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकत्रित गर्दै प्रतिक्रियावादी शक्तिहरूको प्रतिवाद गर्न विद्रोह अपरिहार्य बनेको बताएका हुन्।

advertisement

“आज हामी फेरि बल गरिरहेका छौं,” दाहालले भने, “देशभक्त, वामपन्थी र क्रान्तिकारीहरूलाई जोडेर षड्यन्त्रहरूको सामना गर्ने प्रयासमा छौं। वर्गीय पक्षसँग पुनः जोडिने संकल्प गरेका छौं।”

उनले जनयुद्ध, शान्ति सम्झौता र संविधान सभामार्फत प्राप्त उपलब्धिहरूको रक्षा गर्नु आजको आवश्यकता भएको उल्लेख गरे। “म अझै पनि जीवित छु, नेतृत्व गरिरहेकै छु। त्यसैले मसँग एकपटक फेरि क्रान्तिको संकल्प छ — नयाँ खालको विद्रोहमार्फत प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्ने दृढता लिएको छु,” उनले स्पष्ट पारे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले आफ्नो कार्यकालमा जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने निर्णय गरिएको तर त्यसलाई अदालतको आदेशबाट रोकिएको पनि स्मरण गरे।

उनको भनाइमा हाल देशमा भइरहेको राजनीतिक, सामाजिक तथा वैचारिक अन्योलका सन्दर्भमा माओवादी आन्दोलनका आदर्शहरूलाई पुनः सक्रिय बनाउने प्रयास सुरु भएको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com