काठमाडौँ । नेपाल रग्बी संघले भारतमा आगामी साउन २४ देखि २७ गतेसम्म आयोजना हुने एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ का लागि नेपाली यु–२० महिला टोली घोषणा गरेको छ।
आइतबार सार्वजनिक गरिएको १३ सदस्यीय टोलीको प्रशिक्षणको जिम्मा प्रशिक्षक सावित्री पुर्जाले लिएकी छन्। प्रतियोगितामा सहभागी हुन नेपाली टोली साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
घोषित नेपाली टोलीमा निम्न खेलाडीहरू समावेश छन्:
सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डंगोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही।
नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेका अनुसार टोलीले हाल सर्लाहीस्थित राधाकृष्ण खेलमैदानमा प्रशिक्षण गरिरहेको छ। प्रतियोगिता हुने भारतको मौसमअनुकूल शारीरिक अनुकूलता हासिल गर्न टोलीलाई पछिल्लो एक महिनादेखि विशेष तयारीमा राखिएको उनले जानकारी दिए।
यसअघि पछिल्लो संस्करणको यु–२० रग्बी सेभेन्स प्रतियोगिता नेपालमै आयोजना गरिएको थियो भने यसपटक भारतले आयोजना गर्न लागेको हो। प्रतियोगिता बिहार राज्यको राजगीर रंगशाला मा सञ्चालन हुनेछ।
यस ट्रफीमा एसियाका ११ मुलुकबाट ८ महिला र ८ पुरुष यु–२० टोलीहरूले सहभागिता जनाउनेछन्।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया