काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले देश र जनताका हितका लागि आफू आत्मालोचनामात्र होइन, आवश्यक परे जुनसुकै प्रकारको त्याग गर्न पनि तयार रहेको बताएका छन्।

पार्टीको स्थायी कमिटी बैठकमा आइतबार बोल्दै शर्माले मुलुकमा विद्यमान राजनीतिक अन्योल, पार्टीभित्रको संकट र नेतृत्वको भूमिकाबारे गहिरो टिप्पणी गरेका हुन्। उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि उत्पन्न समस्याको जिम्मेवारी लिनुपर्ने धारणा राखे।

advertisement

‘अध्यक्षबाट सुरु भएको समस्या उहाँले नै अंगिकार गर्नुपर्छ,’ बैठकमा शर्माले भने, ‘हामी सबै आवश्यक जिम्मेवारी लिन तयार छौं।’

शर्माले पार्टीभित्र प्रतिस्पर्धा, स्पष्ट राजनीतिक लाइन, जनउत्तरदायित्व र वैचारिक स्पष्टताको खाँचो औंल्याउँदै विशेष महाधिवेशनको प्रस्ताव पनि अघि सारे। उनका अनुसार पार्टीका एजेण्डालाई दिशाविहीन बनाउने अभिव्यक्तिहरू र विभाजनको हल्ला नेतृत्वले नै फैलाइरहेको जस्तो देखिन्छ।

‘पार्टी फुट्छ भन्ने प्रचार नेतृत्वको असफलता लुकाउने प्रयास हो,’ शर्माले भने, ‘आज विशेष महाधिवेशन आवश्यक छ, जहाँ वैचारिक बहस र संगठनात्मक पुनर्संरचना दुवै सम्भव हुन्छ।’

उनले पछिल्लो समय माओवादी केन्द्रले सञ्चालन गरेको सुशासनको अभियान नेतृत्वकै कारण निष्प्रभावी बनेको दाबी गरे। ‘सरकारबाट बाहिरिएपछि सुरु भएको सुशासन अभियान कांग्रेस–एमालेसँगको दुई बुँदे सहमतिमा गएर मरेको छ,’ उनले आरोप लगाए।

शर्माले पार्टीभित्र वैचारिक दिशाहीनता, संगठनात्मक अराजकता, निर्णय प्रक्रियाको विचलन र केन्द्रीकृत मानसिकता जस्ता समस्या प्रमुख रूपमा देखिएको उल्लेख गरे। ‘स्वचालित संरचना छैन, संगठनमा विधि छैन, विचारमा स्पष्टता छैन,’ उनले भने, ‘यी सबै समस्याको समाधान वैचारिक बहस, संरचनात्मक स्थायित्व र जनमुखी नेतृत्वबाट मात्र सम्भव छ।’

उनले आगामी चरणमा आत्मनिर्भरता, उत्पादनमुखी अर्थतन्त्र र सशक्त जनसंगठनहरू निर्माण गर्दै पार्टीलाई पुनः जनस्तरमा आधारित बनाउनु पर्नेमा जोड दिए।

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबारसम्मका छलफलमा धेरैजसो नेताहरूले शर्मालाई आत्मालोचनाको सन्देश दिएका थिए। पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको मतभेद पार्टीभित्र सतहमै देखिन थालेको छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com