काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लडेका कुनै पनि निर्वाचनमा अनैतिक वा अमर्यादित गतिविधि नगरेको दाबी गरेका छन्। आइतबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले निर्वाचनमा धन, बल र अन्य अनुचित माध्यमको प्रयोग कहिल्यै नगरेको बताएका हुन्।

कार्यक्रममा सहभागीहरूले नेपालको निर्वाचन प्रणाली महँगो हुँदै गएको, कालोधनको प्रयोग बढेको र निर्वाचन प्रक्रिया बदनाम बन्दै गएको भन्ने जस्ता टिप्पणी गरेका थिए। ती टिप्पणीप्रति असहमति जनाउँदै प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक यात्राको अनुभव सुनाएका थिए।

advertisement

उनले २०४८ सालमा झापाबाट पहिलोपटक संसद सदस्य निर्वाचनमा उम्मेदवारी दिँदा पार्टीले बाटो खर्चका लागि दिएको दुई सय रुपैयाँमध्ये २० रुपैयाँ बाँकी रहेको उदाहरण दिँदै निर्वाचनमा पारदर्शिता सम्भव हुने तर्क गरे।
“महासचिव माधवकुमार नेपालले मलाई २ सय रुपैयाँ दिनुभएको थियो,” ओलीले भने, “बस भाडा १८० रुपैयाँ भयो, बीचमा खाना खान पैसा साथीले तिर्नुभयो। त्यसपछि २० रुपैयाँ जोगियो, जुन पैसा चुनावपछि साथीहरूसँग चिया खाएर खर्च गरियो।”

उनले आफ्नो चुनावी खर्चबारे थप खुलाउँदै भने, “४३ हजार रुपैयाँ चन्दा संकलन गरिएको थियो। त्यसमध्ये २१ हजार रुपैयाँ चुनाव प्रचारमा खर्च भयो। दुई जना साथी बसको छतबाट खसेर घाइते हुँदा १२ हजार उपचारमा लाग्यो। बाँकी १० हजार पार्टी कोषमा जम्मा गरियो।”

प्रधानमन्त्री ओलीले आफू नेपालका दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएको नेता भएको उल्लेख गर्दै जनताको समर्थन बिना अनैतिक गतिविधिबाट चुनाव जित्न नसकिने बताए।
“कुनै पनि निर्वाचनमा मैले बुथ कब्जा गरेँ, धम्की दिएँ, नियम उल्लंघन गरेँ भन्ने प्रमाण कसैले देखाउन सक्छ भने हेर्न तयार छु,” उनले भने, “गाली गरेर रिस पोख्नु एक कुरा हो, तर प्रमाणसहित कुरा गरौं।”

उनको भनाइमा, नेपाली जनताले स्वच्छ, सिद्धान्तमा आधारित र सादा जीवनशैली बोकेको नेतामाथि विश्वास गर्छन्, र त्यो विश्वासबाटै आफू विजयी हुँदै आएको तर्क गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्बोधनले नेपाली निर्वाचन प्रणालीमा शुद्धता कायम राख्न सकिने सन्देश दिँदै व्यक्तिगत इमानदारीलाई बल दिएको देखिन्छ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com