काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई “असली राजा” नभएको आरोप लगाएका छन्। आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले शाहलाई “कुसको राजा” को संज्ञा दिए।
प्रधानमन्त्री ओलीले २०५८ सालको दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहलाई खोजेर राजा बनाइएको दाबी गरे। उनका अनुसार राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रको मृत्युसँगै वास्तविक राजतन्त्रको अन्त्य भइसकेको थियो।
“राजा मारियो, रानी मारिए, युवराज मारिए। त्यसपछि यता–उता नभएको भाइ खोजेर ल्याएर राजा बनाइयो,” प्रधानमन्त्री ओलीले भने, “त्यो असली राजा होइन। दरबार हत्याकाण्डको पूर्व योजनाका आधारमा कठपुतली राजा स्थापना गरियो।”
ओलीले राजतन्त्रलाई षड्यन्त्रकारी शासन भन्दै त्यसले जनताको अधिकार खोसेको आरोप लगाए। उनले ज्ञानेन्द्र शाहको शासनकालमा शेरबहादुर देउवाविरुद्ध मुद्दा चलाउन आयोग गठन गरिएको, तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई किनारा लगाइएको आरोप पनि लगाए।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार













प्रतिक्रिया